चीनले दुई देशको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भएको भिडन्तलाई ‘भारतीय सुरक्षाकर्मीको नियोजित उक्साहट’ भनेको छ । गएको सोमबारको हिंसात्मक झडपबारे पहिलो औपचारिक प्रतिक्रिया दिँदै चीनले भारतीय सुरक्षाकर्मीमाथि दोषारोपण गरेको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिएन झाओले भारतीय सेना चिनियाँ भू–भागमा प्रवेश गरेर आक्रमण गरेपछि भीषण युद्ध निम्तिएको बताउनुभयो । तर, उहाँले चिनियाँ सेनातर्फ भएको हताहतीबारे भने कुनै विवरण दिनुभएको छैन । झाओले गलवान उपत्यकामा स्थिति सामान्य बन्दै गएका बेला भारतीयहरूले नियन्त्रित सीमारेखा पार गरेर चिनियाँ सेनामाथि हिंस्रक आक्रमण गरेपछि भिडन्त भएको बताउनुभयो ।
भारतीयहरूले गलवान उपत्यकामा अप्रिलयता नियन्त्रित सीमारेखामा सडकहरू, पुलहरू र अरू संरचनाहरू बनाइरहेको झाओको भनाइ छ । लद्दाखस्थित गलवान उपत्यकामा भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । दुवैतर्फ क्षति भएको भारतको भनाइ छ । शुक्रबारमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनैपनि विदेशी सेना भारतीय क्षेत्रमा प्रवेश नगरेको र भारतीय भूमि नगुमेको बताउनुभएको थियो ।
उहाँले भारतीय भू–भागको रक्षाका लागि भारतीय सशस्त्र फौजलाई आवश्यक कदमहरू चाल्नका लागि अधिकार दिइएको बताउनुभयो । दुई आणविक शक्तिसम्पन्न यी दुई देशबीच यो क्षेत्रमा सीमारेखा स्पस्ट छैन । त्यसैले स्पस्ट सिमांकन नगरिएको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मानिन्छ ।