राष्ट्रियसभा सदस्य राम नारायण विडारीले बजेट खर्च नसक्ने मन्त्रीहरुले सामुहिक राजीनामा दिनुपर्ने बताउनुभएको छ । विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथि छलफलमा विडारीले असारमा बजेट पारित भइसकेपनि साउनबाट फटाफट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताउनुभएको हो । साउनबाटै काम शुरु गरी बजेट खर्च गर्न मन्त्रीहरुलाई के ले छेक्यो ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
विपक्षी दलहरुले समेत बजेट पुगेन भनेर भन्ने तर मन्त्रालयको खर्च १ सय रुपैयाँ राख्नुस भनेर भन्ने प्रविधिले विकास हुन नसकेको उहाँको भनाई छ । राष्ट्रियसभाबाट जति सुझाव दिएपनि बजेटमा कुनै परिवर्तन नहुने कुराको विरोध गर्दै उहाँले बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने बताउनुभयो । बेलायत र अमेरिका लगायतका देशमा पनि बजेट संशोधन हुने गरेको उल्लेख गर्दै उहाँले सबै तिरबाट आएका सुझावलाई आत्मसाथ गरी बजेट संशोधन गर्न सरकार डराउन नहुने बताउनुभयो ।
