नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीरतापूर्वक प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा कसैले अनियमितता गरेको पाइए कारवाही गर्ने बताउनुभयो ।
प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन पुगेका कांग्रेस सांसदहरू खाँण, भीमसेनदास प्रधान, राजन केसी, गगन थापालगायतले पीसीआर टेष्टको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थित गर्न, अस्पतालको व्यवस्थापन मिलाउन, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको अनियमितता छानबिन गर्न माग गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्रीले सरकारको ध्यान अहिले कोरोना महामारीमा रहेकाले दैनिक लेखा परीक्षण गर्न नसकिएको भएपनि छानबिन गर्दा तलमाथि देखिए जो कसैलाई पनि कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।
लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेकामा चिन्तित ओलीले सबै दलहरु मिलेर सचेतना बढाउनुपर्नेमा जोड दिनुभएको छ । भारतबाट आएकाहरुलाई राखिएको स्थानीय तहका क्वारेन्टिनमा कमजोरी भएको स्वीकार्दै उहाँले आवश्यक सुधार गर्नेपनि बताउनुभयो । कांग्रेसले आज ७७ जिल्ला, प्रदेशमा मुख्यमन्त्रीमार्फत् र केन्द्रमा संसदीय दलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोरोना नियन्त्रणमा अहिलेसम्म १० अर्ब खर्च भएको सरकारले बताएपछि कांग्रेसले उक्त खर्च पारदर्शी गर्न माग गर्दै आएको छ ।
