भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांँग्रेसले नेपालसँग देखिएको सीमा विवाद वार्ताबाट हल गर्न भारतीय सरकारलाई आग्रह गरेको छ । भारतीय कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभा सदस्य आनन्द शर्माले विज्ञप्ति जारी गर्दै नेपालसँग सीमा विवादलाई वार्ता र कूटनीति मार्फत समाधान गर्न भारतीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
विज्ञप्ति दुईदेशबीच ऐतिहासिक सम्बन्ध र समझदारी कायम रहेकाले वार्ताबाटै समस्याको समाधान खोजिनुपर्ने उल्लेख छ । नेपालको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले आफ्नो भएको दाबी गरेपछि दुईदेशबीचको सम्बन्ध विग्रने अवस्थामा पुगेको छ । विवाद समाधानका लागि नेपालले पटक–पटक प्रयास गरेपनि भारतले वेवास्ता गर्दै आएको छ ।
भारतीय कांग्रेसका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग अध्यक्ष शर्माले सीमा विवादलगायतमा समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र स्थापनाका बाबजुद अहिलेको अवस्था आउनु दुःखद भएको बताउनुभएको छ । भारतले सधैँ नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको र दुई देशले करिब ९८ प्रतिशत सीमा विवाद समाधान भइसकेको पनि उहाँले उल्लेख गर्नुभयो ।
नेपाल–भारत सम्बन्धको महत्व र संवेदनशीलतालाई ख्याल राख्दै तत्काल वार्तामार्फत् समस्या समाधान गर्न पनि भारतीय कांग्रेसले सरकारसँग माग गरेको छ । गत वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेसँगै दुई देशबीचको सम्बन्धमा तिक्तता देखिएको छ ।
