नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बन्दाबन्दी (लकडाउन) को मोडालिटी आएपछि एसईईलगायत परीक्षा कहिले गर्ने टुंगो लाग्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा मंगलबार सांसदहरूले राखेका जिज्ञासामा केन्द्रीत रहेर जवाफ दिंदै शिक्षामन्त्री पोखरेलले यो महिनाभित्रमा परीक्षाहरूबारे निर्णयमा पुग्ने बताउनुभएको हो ।
एसईई नभएकोले विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको उल्लेख गर्दै उहाँले विद्यालयमा क्वारेन्टाइन रहेको र कोरोनाका संक्रमित बढ्दै गएपछि परिक्षा संचाmन गर्न नसकिएको बताउनुभयो । एसईई, कक्षा ११ र १२ तथा विभिन्न विश्वविद्यालय अन्तर्गतका परीक्षाका सन्दर्भमा मन्त्रालयले बन्दाबन्दीको मोडालिटी आएपछि व्यवस्थित धारणा बनाएर अघि बढ्ने मन्त्री पोखरेलको भनाई थियो ।
शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालय सुधार गर्ने जिम्मेवारी निजी विद्यालयलाई नदिने समेत प्रष्ट पार्नुभयो । बजेटमा शैक्षिक गुणस्तर सुधार गर्न निजी विद्यालय सञ्चालकको सहयोग लिने उल्लेख थियो। मन्त्री पोखरेलले बजेटको उक्त बुँदामाथि यसअघि पनि ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकाल्नुभएको थियो ।
