अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 05:05

रंगभेदको विरोधमा अमेरिका, यूके र अष्ट्रेलियामा ठूला प्रदर्शन

बिआरटीनेपाल २०७७ जेठ २५ गते ६:५० मा प्रकाशित

प्रहरी यातनामा एक अश्वेत अमेरिकी नागरिक जोर्ज फ्लोइड मारिएपछि अमेरिकाबाट शुरु भएको रंगभेदविरोधी प्रदर्शन संसारभर फैलँदै गएको छ । अमेरिकामा बाह्रौं दिन शनिवार पनि जातीय विभेद र प्रहरी क्रूरताविरुद्ध ठूला ठूला प्रदर्शन आयोजना गरिए । बेलायत, अष्ट्रेलिया, क्यानडालगायतका देशमा मानिसहरु कोरोना भाइरसको जोखिमलाई पनि वास्ता नगरी सडकमा ओर्लिएका छन् ।

अमेरिकी राजधानी वाशिङ्टनमा अहिलेसम्मकै ठूलो प्रदर्शनमा दशौँ हजार मानिस सहभागी भएका छन् । प्रदर्शनमा सहभागिको संख्यालाई ख्याल गर्दै प्रहरीले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस पुग्ने सबै बाटा बन्द गरिदिएको छ । वाशिङ्टनमा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई मेयर मुरिअल बाउसरले नै स्वागत गरेका छन् । प्रदर्शनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई गतिलो सन्देश दिएको टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले वाशिङ्टनमा सेना नै परिचालन गरेका छन् । गत सोमवार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउस नजिकैको चर्चसम्म जान बाटो खोल्न प्रहरीले अश्रुग्यास नै प्रयोग गर्नु परेको थियो ।

न्यूयोर्क, शिकागो र सान फान्सिस्को जस्ता शहरहरुका पनि ठूला प्रदर्शन गरिएका छन् । फ्लोइडको जन्मस्थल नर्थ क्यारोलिनामा मानिसहरू भेला भएर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । न्यूयोर्कमा प्रदर्शनकारीहरूले ब्रुकलिन पुल पार गरे भने शिकागोमा गोल्डन गेट पुल केही समयका लागि बन्द गरिए । मे २५ मा मिनियापलिसमा नियन्त्रणमा लिइएका निहत्था फ्लोइडलाई एक श्वेत प्रहरीले घाँटी अँठ्याएर मारेपछि अमेरिकाभर विरोधको आगो सल्केको हो ।

उता, बेलायतमा आयोजना गरिएको प्रदर्शनमा हजारौँ मानिसले जातीय विभेदविरुद्धको प्रदर्शनमा सहभागिता जनाए । लन्डन, म्यानचेस्टर, कार्डिफ र शेफिल्ड लगायतका शहरमा प्रदर्शन भएका हुन् । लन्डनमा एक मिनेट मौनधारण गरेपछि प्रदर्शनकारीले नारा लगाएका थिए । दिनभरि शान्त रहेको प्रदर्शन बेलुकीपख प्रधानमन्त्री निवास नजिकै केही हिंसा भएको जनाइएको छ । प्रहरीतर्फ प्रदर्शनकारीले पट्का प्रहार गर्दा स्थिति नियन्त्रणमा लिन घोडा प्रयोग गरेका प्रहरीको टाउको ट्राफिक बत्तीमा ठोक्किँदा उनी लडेका थिए ।

अस्ट्रेलियाभरि हजारौँ मानिस जातीय विभेदविरुद्धको प्रदर्शनमा सहभागि हुन सडकमा ओर्लिए । कोरोनाभाइरस जोखिमको चेतावनीलाई बेवास्ता गर्दै प्रदर्शन गरिएका हुन् । सिड्नी, ब्रिस्बेन, मेलबर्न, होबर्टलगायत क्षेत्रमा प्रदर्शन गरिएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय