गणेशमान सिंह अध्ययन प्रतिष्ठानले मुलुकमा जारी लकडाउनलाई खुकुलो बनाउन सरकारलाई सुझाव दिएको छ। प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरी अब कार्ययोजना बनाएर लकडाउन खुकुलो बनाउनुपर्ने बताएको हो। प्रतिष्ठानका अध्यक्ष रहेका पूर्वमन्त्री नवीन्द्रराज जोशीले लकडाउन खुकुलो बनाउनुपर्ने बताउनुभयो । प्रतिष्ठानले विज्ञ समूह बनाएर नेपालमा कोरोनाबाट परेको प्रभावबारे अध्ययन गरेको थियो।
उक्त अध्ययनको सुझाव सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई बुझाइएको जोशीले जानकारी दिनुभएको छ । प्रतिष्ठानले बजेटमा रहेको सांसद विकास कोष आवश्यक नरहेको पनि उल्लेख गरेको छ। सरकारले महामारीका बेला राष्ट्रिय सहमति गर्ने कुरामा कमजोरी देखाएको उल्लेख गर्दे उहाँले स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री पर्याप्त हुनुपर्ने बताउनुभयो ।
भारतलगायत देशबाट फर्केकाहरूलाई व्यवस्थित क्वारेन्टाइनमा राखेर पिसिआर विधिबाट कोरोना परीक्षण गरेपछि मात्रै घर पठाउनुपर्ने प्रष्ष्ठिानको सुझाव छ । कार्यक्रममा विज्ञ समूहमा रहेका योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले अब लकडाउन खुकुलो बनाउनुको विकल्प नरहेको बताउनुभयो ।
