विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का सदस्य राष्ट्रहरु कोरोना भाइरस महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भएका प्रयासबारे स्वतन्त्र अनुसन्धान गर्न सहमत भएका छन् ।डब्लुएचओको ७३ औँ वार्षिक विश्व स्वास्थ्य सम्मेलनमा १९४ सदस्य राष्ट्रहरु स्वतन्त्र अनुसन्धान गर्न सहमत भएका हुन् । जेनेभामा भएको सम्मेलनमा विश्वभरबाट सदस्य राष्ट्रका प्रतिनिधिहरु भिडियो कन्फ्रेन्स मार्फत सहभागी भएका थिए ।
डब्लुएचओको भूमिका बारे पनि अनुसन्धान हुने भएको हो । त्यसमा पनि सबै सदस्य राष्ट्रबिना कुनै विवाद सहमत भएका हुन् । अमेरिकाले लगातार डब्लुएचओको आलोचना गर्दै आएको छ । गएको वर्ष चीनको वुहानमा कोरोना भाइरस सुरुमा देखिँदा नै नियन्त्रणका लागि पर्याप्त काम नगरेका कारण अहिलेको अवस्था आएको अमेरिकाको आरोप छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई चीनको ‘कठपूतली’ बनेको सम्म आरोप लगाउनुभएको छ । अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग अस्थायी रुपमा रोकेको छ र ट्रम्पले स्थायी रुपमै सहयोग बन्द गरेर सदस्यबाट बाहिरिने चेतावनी पनि दिनुभएको छ । डब्लुएचओको सम्मेलनमा युरोपियन युनियन (इयु) ले १०० देशको तर्फबाट संकल्प प्रस्ताव पेश गरेको छ । सो प्रस्तावमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रुपमा भएका प्रयासको विस्तृत मूल्यांकन गर्नका लागि निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान गर्ने उल्लेख छ ।
इयुले गरेको यो प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । सो प्रस्तावमा डब्लुएचओकै भूमिकाबारे पनि अनुसन्धान हुने उल्लेख छ । यस्तै कोरोना भाइरसविरुद्धको उपचार तथा खोपको वितरण सबैलाई पारदर्शी र समान रुपमा हुनु पर्ने पनि उल्लेख छ ।