प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि चीनले स्विकार नगरेको बताउनुभएको छ । संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले उक्त बिषयमा चीन सरकारसँग पनि कुटनीतिक तवरमा वार्ता भइरहेको जानकारी दिनुभयो । सन् २०१५ मा भारत र चीनबीच लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सहमति गरेपछि तत्काल सरकारले कुटनीतिक नोटमार्फत असहमति जाहेर गरेको अवस्थामा अहिले पनि चीनसँग वार्ता भइरहेको ओलीले संसदलाई जानकारी गराउनुभयो ।
ओलीले सोमबार सरकारले लिम्पियाधुरा, लिपुलेक कालापानीसहितको भूभाग समेटेर नेपालको नक्सा जारी गरेको संसदलाई जानकारी दिँदै अतिक्रमित भूभाग सरकारले फिर्ता लिएरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले विवादास्पद भनिए पनि त्यो भूभाग नेपालको रहेको र कुटनीतिक तवरबाट फिर्ता लिएर छोड्ने प्रतिवद्धता जनाउनुभयो । उक्त विषय अब ओझेलमा नपर्ने र सरकारले निष्कर्षमा पुर्याएरै छाड्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।
