नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी बन्दाबन्दीको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रिया यथावत् रहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरोकारवाला निकाय समक्ष पटक–पटक ताकेता गर्दा समेत त्यसको विपरित अति आवश्यक र कोभिड १९ सँग सम्बन्धित बाहेकका केही खरिद प्रक्रिया संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तरगतका सार्वजनिक निकायले अझै स्थगित नगरेको महासंघले एक विज्ञप्तीमार्फत जनाएको हो ।
बन्दाबन्दीका कारण निर्माण व्यवसायी सदस्य एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै महासंघले यस अघि जारी भएका पास रद्द भई स्थानीय तहले समेत आफ्ना क्षेत्र भित्र आवतजावतमा कडाइका साथ रोक लगाएको महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा स्मरण गराएको छ । बैंक ग्यारेण्टी लगायतका कागजात तयार गर्न समेत व्यवसायीलाई समस्या रहेको भन्दै महासंघले पूर्ण क्षमता सहित बैंक संचालनमा नभएकोले ती बोलपत्रमा निर्माण व्यवसायी सहभागी हुनबाट बञ्चित हुने हुँदा त्यस्ता खरिद प्रक्रियामा स्वच्छ प्रतिस्पर्धा नहुने ठहर गरेको छ ।
लकडाउनको समयमा समेत अति आवश्यक सेवा र कोभिड १९ सँग सम्बन्धित बाहेकका खरिद प्रक्रिया मध्ये आह्वान भइसकेका बोलपत्रको बन्दाबन्दी खुलेको मितिले सात दिन पछि सम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गरिदिन महासंघले आग्रह गरेको छ । अब उप्रान्त आह्वान हुने सम्पूर्ण बोलपत्र, आशयपत्र, सिलबन्दी दरभाउपत्र लगायतका खरिद प्रक्रिया हाललाई स्थगित गर्न पनि महासंघले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तरगतका सम्पूर्ण सार्वजनिक निकायहरुसमक्ष अनुरोध गरेको छ ।
