भारतले नेपाललाई ३० हजार व्यक्तिको स्वास्थ्य जाँच गर्न पुग्ने कोभिड–१९ पीसीआर परीक्षण किट सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई किट हस्तान्तरण गर्नुभएको हो । भारतीय दूतावासका अनुसार आज बिहान मन्त्रालयमै पुगेर राजदूत क्वात्राले मन्त्री ढकाललाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।
भारतीय जनताका तर्फबाट नेपाली जनताका लागि उपहारस्वरूप प्रदान गरिएका परीक्षण किटको सहयोगले नेपालका स्वास्थ्यकर्मीले तीस हजार व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न सक्ने दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यसअघि वैशाख १० मा राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधि हस्तान्तण गर्नुभएको थियो ।
औषधि र परीक्षण किट हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवं जनताबीचको सहकार्य बढाउने विज्ञप्तीमा उल्लेख छ । दूतावासले चुनौतीको घडीमा भारत सरकारले नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यवद्धता जनाएको उल्लेख गरेको छ ।
