नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताउनुभएको छ । मदन–आश्रितको २७औँ स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वयले संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकतालाई दुई पार्टी जोड्ने मात्र नभइ टुटेको कम्युनिष्ट आन्दोलनलाई निरन्तरता दिने सशक्त पार्टी बनाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।
तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीको एकीकरण नेपाली राजनीतिको सामान्य परिघटना मात्र नभएको भन्दै अध्यक्षद्वयले सशक्त कम्युनिस्ट पार्टी निर्माण र मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई श्रमजीवी जनताको पक्षमा अनुकूल बनाउने पहलकदमी भएको बताउनुभएको छ । अध्यक्षद्धयले नेकपाको पार्टी एकतालाई नागरिकले अनुमोदनसमेत गरेको चर्चा गर्दै सामाजिक–आर्थिक रूपान्तरण र समृद्ध नेपाल निर्माणको ऐतिहासिक जनादेश नेकपालाई प्राप्त भएको दावी गर्नुभएको छ । अध्यक्षद्वयले दलाल नोकरशाही पुँजीवादी शोषण, उत्पीडन र बाह्य हस्तक्षेपलाई परास्त गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका सामन्तवादका अवशेषहरूलाई समाप्त गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मदन–आश्रित स्मृति दिवसकै दिन पारेर २ वर्षअघि जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा गरिएको थियो । पार्टी एकताको वैचारिक, राजनीतिक जगका रूपमा माक्र्सवाद–लेनिनवादको मार्गदर्शनलाई लिइएको र रणनीतिक लक्ष्यका रूपमा वैज्ञानिक समाजवाद रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास गरी तात्कालिक कार्यक्रमका रूपमा जनताको जनवादलाई अगाडि सारिएको छ ।२०५० जेठ ३ गते त्रिशूलीमा भएको जीप दुर्घटनामा मदन–आश्रितको मृत्यु भएको थियो । सो घटनालाई नेकपाले रहस्यमय घटनाका रूपमा लिएको छ । विज्ञप्तिमा मदन–आश्रितको रहस्यमय घटनाको यथार्थ सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
