वैदेशिक रोजगार बोर्डले बिदेशमा अलपत्र परेका कामदारलाई खाद्यान्न उपलब्ध गराउन चार देशमा रहेका नेपाली दूतावासलाई ७० लाख रुपैयाँ पठाएको छ । बोर्डले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र बहराइनस्थित नेपाली दूतावासलाई रकम पठाएको हो । बोर्डको निर्णय अनुसार साउदीमा २५ लाख, यूएईमा २० लाख, बहराइनमा १५ लाख र मलेसियामा १० लाख रुपैयाँ पठाइएको बोर्डका निर्देशक एवम सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिनुभयो ।
गन्तव्य देशमा कम्पनी र सम्बन्धित निकायले नहेरेका कामदारका लागि मात्रै यो रकमबाट खाद्यान्न सहयोग गर्ने अधिकार दूतावासलाई दिइएको उहाँले बताउनुभयो । बैदेशिक रोजगार बोर्डले दूतावासको मागअनुसार रकम पठाएको हो । कोरोना संक्रमण नियन्त्रण गर्न चालिएको कदमबाट असर परेका कामदारलाई खाद्यान्न संकट हुन नदिने खाडीका तथा मलेसिया सरकारले प्रतिबद्धता जनाउँदै आएका छन् ।
