आज २७ औं मदन–आश्रित स्मृति दिवस । सत्तारुढ नेकपाले नेताद्धयको स्मरण गरी स्मृति दिवस मनाउदै छ । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको वि. सं २०५० जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा परी निधन भएको थियो ।
यसैबीच, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ज्यान गएको दासढुङ्गा दुर्घटनाबारे छानबीन गर्ने जनाएको छ। २७ औं मदन(आश्रित स्मृति दिवसका अवसरमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ले एक वक्तव्य जारी गर्दै आम नेपाली जनता उक्त घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार नभएको र घटनाको रहस्य अझै उद्घाटित हुन नसकेको उल्लेख गर्नुभएको छ ।
वक्तव्यमा दुई लोकप्रिय नेताहरुको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा दुःखद निधन भएको आज २७ वर्ष बितेको उल्लेख गर्दै उक्त घटनाको रहस्य अझै उद्घाटित हुन नसकेको बताईएको छ । तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार नभएको र उनीहरूमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन विरुद्धको षडयन्त्रपूर्ण हत्याका रूपमा लिने गरेको नेकपाले जनाएको छ । २७ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा पार्टीले उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता बिज्ञप्तिमा जनाईएको छ ।
