अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४२ | Colorodo: 10:57

कोरोना भाइरसविरुद्धको खोपमा सफलतानजिक पुगेको अक्सफोर्ड विश्वविद्यालयको दाबी

बिआरटीनेपाल २०७७ जेठ २ गते ७:२७ मा प्रकाशित

अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरुले कोरोना भाईरस विरुद्धको खोपमा सफलतानजिक पुगेको दावी गरेका छन् । बाँदरमा गरिएको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सफलता नजिक पुगेको बताईएको छ । ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरसको खोपको बारेमा भइरहेको अनुसन्धानको शुरुवाती निष्कर्ष आशाजनक भएको शोधकर्ताहरुले बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

शोधकर्ताहरुले ६ वटा बाँदरको एक समूहमा यो खोपको प्रयोग गरेको र अहिले त्यो खोपले काम गरिरहेको जनाइएको हो । अब यो खोप मानिसमा परीक्षण गरिने छ । वैज्ञानिकले खोपको जाँच पनि गर्नेछन् । अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका शोधकर्ताहरुसँग मिलेर कोरोना भाइरसको खोपको बारेमा काम भइरहेको बेलायती औषधि निर्माता एझेड एन एलले गत महिना बताएको थियो ।

६ वटा बाँदरलाई भारी डोज दिनुअघि यो खोप लगाइएको थियो । यो खोपबाट केही बाँदरको शरीरमा एन्टिबडी विकसित हुन १४ दिन र केहीमा २८ दिन लागेको जनाइएको छ । कोरोना भाइरसको सम्पर्कमा आएपछि यो खोपले ती बाँदरको फोक्सो क्षति हुनबाट बचाएको र शरीरमा भाइरसको कपी बन्न र बढ्न रोकिएको शोधकर्ताले बताएका छन् । नाकमा भने अझै भाइरस सक्रिय रहेको बताइएको छ ।

लण्डन स्कुल अफ् हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर डाक्टर स्टिफिन इभान्सले बाँदरमा गरिएको अनुसन्धानको नतिजा राम्रो खबर भएको भन्दै अक्सफोर्ड भ्याक्सिनको लागि निकै ठूलो उपलब्धि भएको बताएका छन् । गत मे १३ सम्म शोधको लागि स्वेच्छाले आएका झण्डै एक हजार मानिसमा परीक्षणको रुपमा यो खोप लगाइएको शोधकर्ताहरुले बताएका छन् । अबको एक महिनासम्ममा केही स्पष्ट निष्कर्ष आउने उनीहरुको आशा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय