अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 08:08

कोभिड– १९ को खोपमा अमेरिकालाई पहिलो प्राथमिकता अस्वीकार्य– फ्रान्स

बिआरटीनेपाल २०७७ जेठ १ गते २१:५२ मा प्रकाशित

फ्रान्सले कोभिड– १९ को खोप उत्पादन गर्न सफल भएमा त्यसको पहिलो प्राथमिकतामा अमेरिकालाई राख्नु अस्वीकार्य रहेको बताएको छ । फ्रान्सेली औषधि उत्पादक कम्पनी सानोफीले यस्तो बताएको हो । सानोफीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पउल हडसनले ठूलो मात्रामा जोखिम पूर्ण लगानी गरेकाले अमेरिका सरकारसँग ठूलो मात्रामा खोपको पूर्व अडर गर्न पाउने अधिकार रहेको बताउनुभएको छ ।

फ्रान्सले सानोफीका सिइओको सोही अभिव्यक्तिमाथि प्रतिक्रिया दिँदै खोपमा अमेरिकालाई पहिलो प्राथमिकतामा राखिनु कुनै पनि हालतमा स्वीकार्य नरहेको बताएको हो । खोपमा सबैको पहुँच हुनु पर्ने फ्रान्सका प्रधानमन्त्री इडूवार्ड फिलिपले बताउनुभएको छ । कोभिड १९ को खोप बनाउने प्रयासमा विश्वका विभिन्न प्रयोगशालाहरु लागि परेका छन् ।

सामान्य अवस्थामा खोप पूर्ण रुपमा तयार हुन वर्षौँ लाग्छ । तर कोरोना भाइरसको महामारी विश्वभर भयावह रुपमा फैलिएकाले वैज्ञानिकहरु कम्तिमा डेढ वर्ष भित्रै खोप प्रयोगमा ल्याउन सकिने गरी काम गरिरहेका छन् ।

यस्तै फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले खोप मुनाफा वा बजारी करणका हिसाबले सोचिन नहुने बताउनुभएको छ । उहाँले आउँदो हप्ता सानोफीका उच्च अधिकारीसँग भेट गर्ने बताइएको छ ।

यो महिनाको सुरुमा युरोपियन युनियनको अग्रसरतामा कोभिड १९ को खोप बनाउने प्रयासका लागि ८ अर्ब अमेरिकी डलर बराबरको सहयोग जुटाउनका लागि अनलाईन सम्मेलन भएको थियो । जसमा ४० देश तथा दातृ निकायको सहभागिता थियो । तर अमेरिका र रुसले भाग लिएका थिएनन् । युरोपियन युनियनले खोप सबैका लागि सबैको पहुँचमा हुनु पर्नेमा स्पष्ट रुपमा जोड दिएको छ ।

कोभिड–१९ को खोप बनाउने प्रयासमा सानोफीलाई अमेरिकाको बायोमेडिकल एड्भान्स रिसर्च एण्ड डेभलप्मेन्ट अथोरिटी (बार्डा) ले आंशिक रुपमा सहयोग गरेको छ । तर पछिल्ला वर्षहरुमा सानोफीले करोडौँ युरो बराबरको कर छुट फ्रान्स सरकारबाट पाउँदै आएको छ । फ्रान्स सरकारले अनुसन्धानलाई सहयोग गर्न भन्दै कर छुट दिने गरेको हो ।

तर सानोफीका सिइओ हडसनले ब्लुमबर्गसँगको अन्तर्वार्तामा अमेरिकालाई प्राथमिकता दिने कुराले फ्रान्समा तरंग पैदा गरेको छ । यसले राजनीतिक रुप पनि लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय