नेपालमा शुक्रबारसम्म २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । आज थप ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म २३ हजार ९ सय १४ जनाको पिसिआर र ६३ हजार ८५ जनाको आरडिटी विधिबाट कोरोनाको नमूना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार २ सय ५० र आरडिटी विधिबाट ७ सय ५८ गरी २ हजार ८ वटा परीक्षण भएको जानकारी दिनुभयो ।
जसअन्तरगत प्रदेश नम्बर १ मा ८ हजार ९ सय ३३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८२, बागमती प्रदेशमा ९ हजार ६ सय ७३ वटा आरडिटी परीक्षण भएका छन्। यस्तै गण्डकी प्रदेशमा ६ हजार ८ सय ६२, प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ७१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ जनाको आरडिटी परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
डा.देवकोटाका अनुसार देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ आइसोलेसनमा उपचाररत रहेका छन्। बागमती प्रदेशमा ३४, प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १ सय २, गण्डकी प्रदेशमा १ र प्रदेश नम्बर ५ मा १ सय ८ जना आइसोलेसनमा रहेका छन्। कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि व्यक्ति आइसोलेसनमा रहेका छैनन्। प्रवक्ता देवकोटाका अनुसार देशभर १५ हजार ६ सय ८३ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
