भारतको सीमावर्ती बजार पानीट्यांकी आसपासमा करिव १ हजार नेपाली आएका छन् । उनीहरु त्यहिं अलपत्र परेको बुझिएको छ । भारतबाट नेपाल आएका उनीहरुको नाम संकलन भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। भारतका विभिन्न शहरहरूमा रोजगारीका लागि गएकाहरू अहिले भारतीय सीमावर्ती बजार पानीट्यांकीमा आएर बसेका हुन् ।
भारतमा रेल सेवा सुरु भएपछि भारतको विभिन्न स्थानबाट नेपालीहरू पूर्वी नेपालको सीमावर्ती बजार काँकरभिट्टा पारिपट्टि सीमावर्ती भारतीय बजार पानीट्यांकीमा जम्मा भएको बताईएको छ ।
करिब एक हजार जना नेपालीहरूका लागि व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेकोमा हालसम्म करिब ४ सय जनाका लागि क्वारेन्टिनको व्यवस्था मिलाइ सकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भद्रपुरको मेची बहुमुखी क्याम्पसमा २ सय जना, कलबलगुडी प्रशिक्षण केन्द्रमा १ सय जना, मेचीनगर नगरपालिकाको आदर्श माविमा १ सय जनाका लागि क्वारेन्टिनको व्यवस्था भइसकेको छ।
