मुलुकमा अहिलेसम्म कोरोना भाइरसको पिसिआर विधिबाट साढे २२ हजारभन्दा बढीको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ १४ गतेबाट सुरु गरिएको परिक्षण अन्तरगत हालसम्म २२ हजार ६ सय ६४ वटा पिसिआर परीक्षण भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सय ६३ जनाको पिसिआर जाँच गरिएको जानकारी दिनुभयो ।
डा. देवकोटाका अनुसार आरडिटी विधिबाट अहिलेसम्म ६२ हजार ३ सय २७ वटा परीक्षण भएका छन्। जसमध्ये पछिल्लो २४ घण्टामा २ हजार ८ वटा परीक्षण भएका छन्। सरकारले पछिल्लो समय कोरोना परिक्षणको दायरा बढाउँदै प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ८ हजार ६ सय ७३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ६४, बागमती प्रदेशमा ९ हजार ८ सय ६१ र गण्डकी प्रदेशमा ६ हजार ७ सय १६ वटा आरडिटी परीक्षण भएका छन्। यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ११, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिममा १५ हजार ८ सय ९५ जनाको आरडिटी परीक्षण गरिएको छ ।
यसैबीच, आज थप ३ जनामा कोरोना पुष्टि भएको र यो सँगै संक्रमितको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित ३५ जना निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमणको आशंकामा देशभरी २ सय ७२ जना आइसोलेसनमा रहेका छन् भने क्वारेन्टाइनमा १५ हजार ६ सय जना रहेको मन्त्रालयले जनाएको छ । देशभर ५३ हजार ८ सय ३५ जनालाई राख्न सक्ने क्षमताको क्वारेन्टाइन स्थापना गरिएको देवकोटाले बताउनुभयो ।
