प्रधानमन्त्री केपी ओलीले सड्कमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताउनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर समस्या समाधान नहुने भन्दैै यसका लागि भारतसँग वार्ता गरिने बताउनुभयो । बैठकमा ओलीले सीमाका विषयमा बोल्दा तथ्यपरक भएर र कुरा बुझेर मात्रै बोल्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।
यसअघि भूमिसुधार मन्त्री पद्मा अर्यालले एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनेक्रममा लिम्पियाधुरा नेपालको नक्शामा कहिल्यै नभएको भनेकामा संसदीय समितिमा समेत आलोचना भएको थियो । मन्त्रिपरिषद स्रोतका अनुसार प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको समेत बताउनुभएको थियो । यद्यपि, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने संसदमै भारतले बनाएको सडकबारे सरकारलाई जानकारी रहेको उल्लेख गर्नुभएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले सीमा समस्या समाधानका लागि नेपालले पटकपटक कुरा उठाउँदा पनि भारतले वास्ता नगरेको र अहिले सडक नै उद्घाटन गर्नुले उसको नियत ठीक नभएको प्रष्ट भएको पनि बताउनुभएको समाचारमा उल्लेख छ । काली नदी पूर्वको भूभाग नेपालको हो भन्नेमा सरकारको प्रष्ट अडान रहेको प्रधानमन्त्रीको भनाई थियो । भारतले धार्चुलाबाट तीनको तिब्बतस्थित मानसरोवर जानका लागि नेपाली भूमि लिपुलेक अतिक्रमण गरी सडक बनाएपछि यसको सर्वत्र विरोध भएको छ । सरकारमाथि तीब्र दबाब बढेको छ भने सोमबार मात्र परराष्ट्र मन्त्रालयले भारतीय राजदुतलाई बोलाएर कूटनीतिक नोट दिएको थियो ।
