अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका ३ जना सदस्यहरु २ हप्ता सेल्फ आइसोलेसनमा बस्ने भएका छन् । वरिष्ठ संक्रामक रोग विशेषज्ञ तथा नेशनल इन्स्टिच्युट अफ एर्लजी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक रहेका डा. एन्थोनी फौची पनि क्वारेन्टाइनमा बस्ने जनाईएको छ । डा. फौची अमेरिकामा मात्र नभएर विश्वकै चर्चित संक्रामक रोग विशेषज्ञ हुनुहुन्छ । डा. फौचीको कोरोना परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको छ ।
इन्सिटीच्युटका अनुसार ७९ वर्षीय फौचीले अव घरबाटै काम गर्नुहुनेछ र उहाँको नियमित स्वास्थ्य परीक्षण हुनेछ । यसअघि, उपराष्ट्रपति माइक पेन्सका प्रेस सेक्रेटरी केट मिलरलाई शुक्रबार कोरोना पोजिटिभ देखिएको थियो । उहाँराष्ट्रपति ट्रम्पका विशेष सल्लाहकार स्टेफेन मिलरकी श्रीमती हुनुहुन्छ ।
यसअघि ट्रम्पका एक सहयोगीलाई पनि कोरोना पोजिटिभ पाइएको थियो । ह्वाइट हाउसका दुईजनामा कोरोना संक्रमण देखिएपछि अहिले निकै सर्तकता अपनाइएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सिडिसी)का निर्देशक डा. रोबर्ट रेडफिल्ड र फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन(एफडिए)का आयुक्त स्टेफेन हान पनि सेल्फ आइसोलसनमा बस्ने समाचारमा उल्लेख छ ।