भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो। सांसदहरुले निर्णय नगरी बैठक स्थगित गरिएको र आगामी बैठकका विषयमा समेत स्पष्ट जानकारी नभएको भन्दै प्रश्न गरेका थिए ।
परराष्ट्रमन्त्री ज्ञवालीले बैठकमा उठेका विषयमा जवाफ दिए पनि कुनै निर्णय र निर्देशन नगरी आगामी बैठक अनिश्चित भएपछि सांसदले बैठकको मिति तोक्नु पर्ने भन्दै अडान लिएका थिए । सांसद भीम रावलले देशको स्वाधिनतामाथि हस्तक्षेप भएपनि समितिले बैठकको मिति तय गर्न नसक्नु दुःखद भएको बताउनुभयो ।
ज्ञवालीले विदेशमा अलपत्र परेका नेपाली नागरिक लगायतका विषयमा अन्य समितिहरुले पनि समय लिएका कारण समय तालमेल गरेर सभापतिलाई जानकारी गराएपछि सांसद् रावल र मन्त्री ज्ञवालीबीच चर्काचर्की भएको हो । आइतबारको समिति बैठकमा मन्त्री ज्ञवालीले भारतले सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।
