अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

भारतले नेपाली भूमी अतिक्रमण गरेको विषयको विवाद कूटनीतिक तहबाट समाधान गर्नुपर्ने गृहमन्त्री थापाको भनाइ

बिआरटीनेपाल २०७७ वैशाख २८ गते ७:२६ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयको विवाद कूटनीतिक तहबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । आज बिहान संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएर गृहमन्त्री थापाले ६ दशक अघिदेखि नै झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गर्दै आएको बताउँदै अहिले मानसरोवर जाने बाटोको बारेमा सरकारले विरोध जनाइसकेको जानकारी दिनुभयो ।

भारतले मानसरोवर जाने बाटो उद्घाटन गरेपछिको विषयमा बोल्दै गृहमन्त्री थापाले यो समस्या नयाँ नभएको र भूभाग फर्काउनका निम्ति नेपाली जनता र नेपाल सरकारले आवाज उठाउँदै आएको बताउनुभयो । बैठकमा गृहमन्त्री थापाले गतवर्ष भारतले नयाँ नक्सा जारी गर्दै नेपाली भूमिलाई पनि आफ्नो दाबी गरेपछि त्यसविरुद्ध पनि नेपालमा आन्दोलन भएको र सरकारले पनि विरोध जनाएको स्मरण गर्नुभयो ।

अहिले पनि मानसरोवर जाने बाटोको बारेमा सरकारले विरोध जनाइसकेको भन्दै गृहमन्त्री थापाले यसबारेमा कुटनीतिक तवरबाट समस्याको समाधान गर्ने धारणा राख्नुभयो । भारतले नेपालको भूमि हुँदै मानसरोवर जाने गरि सडक निर्माण गरेपछि नेपालमा चौतर्फि विरोध भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, अन्य दल देखि नागरिक तहबाट पनि भारतिय कदमको विरोध भइरहेको छ ।

यसैबीच, आजै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित भएर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मानसरोवरसम्म पुग्ने बाटो निर्माणको क्रममा भारतले नेपालको १९ किलोमिटर भूमि मिचेको जानकारी दिनुभएको छ । नेपाली भूमि मिचेर सडक निर्माणको प्रारम्भिक जानकारी प्राप्त भएलगत्तै त्यसबारे विस्तृत विवरण दिल्ली दूतावासमार्फत् मगाइएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको पूर्वजानकारी आफूहरूलाई भएको पनि उहाँले बताउनुभयो । त्यसो नगर्न नेपालले आग्रह गरे पनि भारतले त्यसलाई ध्यान नदिएको मन्त्री ज्ञवालीको भनाइ छ । निरन्तर पहलका बाबजुद नेपालको आग्रहलाई ध्यान नदिएर भारतले सडक निर्माण गरेको उहाँले बताउनुभयो । सांसदहरूले नेपालको भूमि मिचेर भारतले कैलाश मानसरोवरसम्म पुग्ने बाटो बनाएको बारे सरकारलाई जानकारी छ कि छैन भन्ने प्रश्न गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय