अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 01:02

नेपाली भूमिमा भारतले सडक बनाउनु सार्वभौम सत्तामाथिको हस्तक्षेप – नेकपा अध्यक्ष ओली/प्रचण्ड

बिआरटीनेपाल २०७७ वैशाख २७ गते २२:०२ मा प्रकाशित

भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाउनुभएको छ । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष प्रचण्डको संयुक्त वक्तब्यमा कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा यो कार्य हुनु निन्दनीय रहेको बताइएको छ । सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको निष्कर्ष वक्तव्यमा छ । विज्ञप्तिमा सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन भनिएको छ ।

सुगौली सन्धिसहितका सबै ऐतिहासिक प्रमाण र तथ्यहरुले यो भूमि नेपालकै भएको देखाएको उल्लेख गर्दै दुई अध्यक्षले विदेशमन्त्रीस्तरीय वार्ताका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले लिएको पहलकदमीअनुसार अविलम्ब वार्ता गर्नुपर्ने ठहर गर्नुभएको छ । दुबै सरकारलाई वार्ता र कूटनीतिक माध्यमले समस्याको समाधान गर्न आग्रह गर्दै वक्तव्यमा सडक निर्माण तत्काल रोक्न र यो मुद्दालाई जटिल बनाउने कुनै कार्य नगर्न भारतलाई भनिएको छ ।

भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवरसम्म जाने सडकको शुक्रबार उदघाटन गरेको थियो । नेपाली भूमिमा सडक बनाएको विरोधमा शनिबार नै परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति निकालेर आपत्ति जनाइसकेको छ । भारतको विदेश मन्त्रालयले भने सडक निर्माण गरिएको भूमि भारतकै रहेको दाबी गरेको छ । तर, कोराना महामारी सााम्य भएपछि दुईपक्षीय बैठकका लागि तयार रहेको पनि उसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय