अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२० | Colorodo: 14:35

बाँदरका हातमा नरिवल, मिडिया र सामाजिक सञ्जाल

रामप्रसाद खनाल २०७७ वैशाख २७ गते १९:५६ मा प्रकाशित

कलाकार सरोज खनाल कोरोना महामारीका बेला केही दिन अघि अमेरिकी राजदूतावासले आफ्ना अमेरिकी नागरिकहरूका लागि चार्टर गरेको फ्लाइटमा नेपालबाट आफ्ना परिवारजन भेट्न अमेरिका आउँदै गरेका बेला एयरपोर्टमा खिचिएको उनको मास्क लगाएको फोटो पोस्ट गरेर उनलाई केही मान्छेहरूले फेसबुक, युट्युब, अनलाइन र ट्विटर मा तथानाम गाली गरे । सरोजलाई बर्साइएका गालीहरू यती नीच र तल्लो स्तरका थिए कि मैले यहाँ सबै उल्लेख गर्न पनि मिल्दैन र सक्दिन ।

कलाकारिता मार्फत नेपालमा स्थापित त्यति राम्रो कलाकार माथि अपशब्द बर्साउँदा केही बाँदरे शैलीका मान्छेहरूलाई बहुत आनन्द आए होला तर मलाई सरोज मेरो बन्धु वा साथी भएर मात्र मन दुखेको कदापि होइन । सरोज नेपालको अभिनय क्षेत्रको निकै नामी मान्छे हो । राष्ट्रका गहना हो । उनलाई तथानाम गाली र बाहुन काँठा सम्म भनेर जातीय झटारो हान्दा अलिकति बुझ्न सक्ने क्षमता भएका कुन चाँहीँ मान्छेको मन दुख्दैन होला र !

बिबिसी नेपाली सेवाको प्रमुख, हुँदा खाँदाको राम्रो जागिर र सेवामा छँदा होस वा छोडेर परोपकारी काममा लाग्दा होस वा राजनीतिमा होमिँदा होस रबीन्द्र मिश्र माथि फेसबुक, युट्युब, अनलाइन र ट्विटर मा भ्रष्टाचारी देखी दुनियाँ आरोप लगाउँदै उनलाई बदनाम गराउन केही मान्छे यसरी लागे, लागिरहेका छन् कि उनको ठाउँमा उस्तै मान्छे भएको भए निराश भएर फेरी लन्डन फर्किन्थ्यो तर उनी बहादुर थिए, छन् र प्रतिवाद गर्दै नेपालमै टिकिरहेका छन् ।

उनलाई फेसबुक, युट्युब, अनलाइन र ट्विटरहरूमा गाली गर्नेहरूले उनी दरवारीया, परोपकारका नाममा पैसा उठाएर खाने, अनियमितता गर्ने देखी सुन्नै नसकिने आरोप बर्साउँछन् । रबीन्द्रले मैले कुनै तलमाथि गरेको भए मेरी आमाको रगत खाए सरह होस, मलाई पाप लागोस् भन्दै धेरै पटक सार्वजनिक रूपमा चुनौती दिँदै खण्डन गरे, गरिरहेका छन् । उनी आफै पत्रकार, प्रखर वक्ता भएकोले उनलाई खण्डन गर्न, ती भ्रम चिर्न गाह्रो छैन । तर उनको ठाउँमा उनी जस्तै जब्बर नभएका अरू कोही परेका भए जिउँदै सहिद हुन्थे जसरी आमा घरकी आमा दिल शोभा श्रेष्ठ हुनुपर्‍यो ।

हाम्रो नेपाली समाजका केही उद्दण्डहरू हावाका भरमा, अरे अरेका भरमा एकतर्फी धारणा बनाउन र बिना सित्तै अरूलाई बदनाम गराउन माहिर छन् । के रबीन्द्रले गरेको परोपकारी काम होस वा फोहोरी राजनीति सफा गर्छु भनेर लागेको अभियान होस, गलत हो र ? तर यस्तै छ यहाँको चलन । गरिखाने को आरिस गर्ने । खुट्टा तान्ने, चरित्र हत्या गर्ने, सिद्ध्याउने । मान्नुस् नमन्नुस हाम्रो समाजमा केही गर्छु भन्ने धेरै जनालाई जिउँदो सहिद बनाइएको छ दिल शोभालाई जस्तै ।

अनुराधा कोइराला जस्ती देशकी गौरव जसले बेचबिखनमा परेका चेलीहरू, बालबालिकाको उद्धार र पालन पोषण गरेर समाजसेवाको, मानवताको उपल्लो परिचय दिइरहेकी छन् त्यस्ती महान् समाजसेवी, महिलालाई बालबालिका बेचबिखन र वेश्यावृत्ति गर्ने आरोप लगाउन सक्ने अपराधी सोचका मान्छेहरू पनि मैले हाम्रो समाजमा देखेको छु । नेपालमा रहँदा र पत्रकारका रूपमा कलम चलाउँदा मैले अनुराधा दिदी र वहाँको समाजसेवालाई समर्थन र सहयोग गर्दा पत्रकारिता क्षेत्रका केही मान्छेहरू नै म माथि खनिएको विगत पनि मेरो स्मरणमा ताजै छ ।

अमेरिकामा राम्रै गरेर बसिरहेका रवि लामिछानेलाई नेपाल फर्केर केही गरौँ भन्ने लाग्यो । उनी नेपाल फर्के । त्यहाँ रविले जब देश र जनताका लागि केही गर्न थाले उनी माथि केही कथित पत्रकारहरू देखी फेसबुक, युट्युब, अनलाइन र ट्विटर मा खेदो सुरु भए । उनको पारिवारिक र व्यक्तिगत जीवनलाई लिएर उनी माथि आक्रमण मात्र भएनन् उनलाई नेपाली हुन बाट वञ्चित गर्ने देखी अमेरिका फर्काउने सम्मका अनेक हर्कत भए । भएन भनेर एउटा मान्छे आफै झुन्डिएर मर्दा रवि र उनका सहयोगी युवराज माथि आत्महत्या गर्न बाध्य बनाएको भन्दै राज्यशक्ती नै लागेर फसाउन निकै ताना बाना बुनियो तर जनसागरको बल थेग्न नसकेपछि राज्य संयन्त्रहरू रवि र उनका सहयोगी युवराजलाई छोड्न बाध्य भए । उनका समर्थकको समर्थनका बलले मात्र हो नत्र फेसबुक, युट्युब, अनलाइन र ट्विटर मा उनको चरित्र हत्या गरेरै उनलाई जेलमा कुहाउने षड्यन्त्र थियो । रवि बहादुर थिए भिडे, टिके । उनको ठाउँमा उस्तै कमजोर मान्छे भएको भए के हबिगत हुनेथ्यो होला कल्पना गर्नुस् त !

पत्रकार नारायण श्रेष्ठ र प्रेम बानियाँ अमेरिका आए । उनीहरू माथि पनि कम झटारा हानिएनन् फेसबुक, युट्युब, अनलाइन र ट्विटरमा । उनीहरू दुवैले प्रतिवाद गर्ने क्रम आज सम्म जारी छ । के कारणले अमेरिका आएर यतै भुले होलान् त उनीहरू ? कसैले यो वास्तविकता केलाउन, जरो सम्म जानै चाहेनन्, बरु ब्यङ्गबाण हान्नमै समय खर्चिए । माटोलाई माया गर्ने असङ्ख्य नारायण र प्रेमहरू अहिले अमेरिका, क्यानडा, अस्ट्रेलिया देखी युरोप हुँदै खाडी सम्म, अझ भनौँ छिमेकी भारत सम्म भासिन बाध्य छन् । देशको शासन व्यवस्था राम्रो चलेको भए, देश भित्रै रोजगारी, अवसरहरू भएको भए कुन नेपाली विदेश जान्थ्यो र ? किन जान्थ्यो र ? यति सम्म सोच्न र बुझ्न नसक्ने दलका दलेहरु, एक्काइसौँ शताब्दीका दासहरूलाई के भन्ने र खोइ !

मान्छे मार्ने, अपहरण गर्ने, लुट्ने, कुट्ने लगायतका अपराधहरू गर्नेहरूको सधैँ विरोध गरेको, लेखेको, बोलेको, उनीहरूको हनुमान बन्न नसकेको कारण, मान्छे जस्तै देखिने तर व्यवहार राक्षसको जस्तो गर्ने प्रचण्ड र बाबुराम अनि उनका चेलाहरूले मलाई २०६४ सालको भदौ २२ गते ( लोकतन्त्र, गणतन्त्र आयो भने पछि र संयुक्त सरकार बेनपछिको कुरा ) अपहरण गरेर बेपत्ता पारे । अपहरण गरेपछि उनीहरूको सर्त थियो माओवादी प्रवेश गर्नुपर्ने, माओवादीका लागि काम गर्नुपर्ने, नमाने मारिदिने धम्की दिएर मलाई अपहरणमुक्त गरियो । मलाई लाग्यो यी अपराधी ज्यानमाराहरूको पछि लागेर हिँड्नु भन्दा, यिनको पार्टी प्रवेश गर्नुभन्दा बरु म मर्न सक्छु, मृत्यु बरु मलाई सजिलो हुन्छ । मानसिक यातना देखी दुनियाँ भोगे पछि वाक्क दिक्क भएको म यो सतीले श्राप गरेको देश रहेछ, गरिखाने मान्छेलाई टिक्न गाह्रो रहेछ भनेर म अमेरिका आएँ । अमेरिकामा पनि आफ्नो स्वाभिमान बेचेर होइन कि आफ्नो योग्यता क्षमता र प्रतिभाको कारण अमेरिकाले संसारका बहुप्रतिभाशाली मान्छेहरूलाई दिने एक्स्ट्रा अर्डिनरी एबिलिटी इबी वान क्याटेगोरी अन्तरगत ग्रिन कार्ड दियो । म यहाँ छु तर नेपाल आऊ जाऊ गर्छु । मेरो गीत सङ्गीत, साहित्य, पत्रकारिताको क्षेत्रलाई म यही बाट पनि नेपाल बसे जत्तिकै योगदान गरिरहेको छु जस्तो लाग्छ तर मलाई आफ्नो बनाउन नपाएका अपराधी ज्यानमाराहरू मेरो खोइरो खन्छन् । बरु मर्छु तर म प्रचण्ड, बाबुराम जस्ता भस्मासुरहरुको मतियार बन्दिन भन्नु, लेख्नु, बोल्नु के मेरो गल्ती हो र ?

मन मुटु नेपालमा, ज्यान चाँहीँ अमेरिकामा भएको म नेपाल फर्किने र त्यही केही रोजगारी मूलक व्यवसाय गर्ने, पत्रकारिता, गीत सङ्गीत, साहित्य र समाजसेवामा आफ्नो बाँकी समय खर्चिने योजना बनाइरहेको छु तर नेपाल फर्केका साथीहरूको अनुभवहरू सुन्दा निकै कहाली लाग्दो अवस्था छ । साथीहरू जसले अमेरिका छोडेर नेपाल फर्केका छन् उनीहरू भन्छन् ” यहाँ स्वतन्त्र भएर बाँच्न गाह्रो छ । कुनै न कुनै दलको दले हुनुपर्ने, दास बन्नु पर्ने, आफ्नो स्वाभिमान बेच्नुपर्ने अवस्था छ । केही गर्छु भन्यो खुट्टा तानेर, गुलेली हानेर सिद्ध्याउन लागिहाल्छन् । खोइ के गर्नु गर्नु !”

अमेरिकामा मात्र अहिले करिब चार लाख नेपालीहरू पुगेको अनुमान छ । नेपाल बाहिर संसारका विभिन्न देशमा अनुमान गर्दा नेपालको जनसङ्ख्याको एक तिहाइ अंश अर्थात् करिब एक करोड नेपालीहरू नेपाल बाहिर रहेकाछन र तिनै नेपालीहरूले कमाएर पठाएको रेमिट्यान्सले नेपालमा रहेका परिवारजन मात्र होइन सरकार र एउटा राजा हटाएर बनेका हजारौँ छोटे पिर्के राजाहरू पालिएको कसैलाई हेक्का छैन । रेमिटेन्स रोकिए देश नै ठप्प हुन्छ भन्ने थाहा नभएका हुस्सुहरू विदेशमा बस्ने नेपालीहरूलाई धार्नी हात लगाएर बस्छन् । फेसबुक, युट्युब, अनलाइन र ट्विटरहरूमा गाली बर्साएर बस्छन् ।

अझ आश्चर्यको कुरा त नेपालका तिनै दल, नेताहरूको कुशासनले गर्दा रोजीरोटीको लागि आफै बाहिर बिदेसिएका केही नेपालीहरू आफ्नो धरातल बिर्सेर विदेशबाट विदेशमै रहेका नेपालीहरू लाई पनि राजनीतिक आवरणमा तथानाम गाली गलौच सम्म गर्न भ्याउँछन् ।

देश बाहिरबाट कसैले केही बोली हाले, लेखी हाले, आफ्नो अभिमत जाहेर गरे भने नेपालबाट “तँलाई के अधिकार नेपालको बारे बोल्न ? तँ अर्काको देशमा भाँडा माझ्न, चर्पी सफा गर्न गएको मान्छे, तँ आफ्नै देशलाई लात्ती हानेर हिँडेको मान्छे, हामी जे गरौँ तँलाई के सरोकार ?” भनिहाल्छन् । उनीहरूको दिमागमा विदेश जानु भनेको भाँडा माझ्न र चर्पी सफा गर्न भन्ने बाहेक केही छिरेकै छैन । यी दले र दासहरू जसले फेसबुक, युट्युब, अनलाइन र ट्विटरहरूमा विदेशमा रहेका नेपालीहरूलाई गरेका गाली र भाषा देख्दा कुन्नि के जति गर्नेलाई भन्दा देख्ने लाई लाज भने जस्तै हुने मात्र होइन देश उनीहरूका ससुरालीले विवाहमा दिएको दाइजो हो, तिनका बाउले दिएको अंश हो, सम्पत्ति नै हो जस्तो गर्छन् । तिनीहरूका बोली, व्यवहार, भाषा हेर्दा लाग्छ – उनीहरू लाई नैतिक शिक्षा के हो थाहै छैन । अनुशासन, मर्यादा कुन चराको नाम हो थाहा नै छैन ।

त्यति मात्र हो र भन्या ! विदेशमा बसेका नेपालीहरूलाई फेसबुक, युट्युब, अनलाइन र ट्विटरहरूमा गाली गर्ने भाषा पनि कस्ता कस्ता ! आमा चकारेका छन्, ओए खाते, ओए झारपात, भिखारी, गुलाम, हिम्मत भए नेपाल आएर देखा । फेसबुक, युट्युब, अनलाइन र ट्विटरहरूमा गाली गलौच गरेको देख्दा लाग्छ हामी नेपालीहरू अझै १६ औँ शताब्दीमै छौँ ।

फेसबुक, युट्युब, अनलाइन र ट्विटरहरू लगायतका सामाजिक सञ्जाल अहिले सबैको हातमा भएको करामत होला बोल्ने पनि बोलेका छन्, नबोल्ने पनि बोलेका छन् । आमा चाकरी गाली गलौच गरेका छन् अरूलाई । बाउन छेत्री जति त सबै दुस्मन जस्तो गरेर गाली बर्साउने अर्का थरीका भाषा अहो कुरै नगर्नुस् । अनि तिनै सबै जान्ने सुन्ने, तिनै न्यायाधीश, तिनै नेता, तिनै पत्रकार, तिनै पुलिस । देख्दा लाग्छ हामीहरू न सुध्रिन्छौँ, न त सुध्रिने वाला छौँ ।

यी र यस्ता सबै कुरा नजिकबाट नियाल्दा लाग्छ – हामी नेपालीहरूमा बाँदरे प्रवृत्ति अत्यन्त हाबी भएको छ । हरेक राम्रा कुराको पनि दुरुपयोग गरेर हामीले नराम्रो बनाइरहेका छौँ । फेसबुक, युट्युब, अनलाइन, ट्विटर लगायतका मिडिया र सामाजिक सञ्जाल हामीहरूको लागि बाँदरका हातमा नरिवल भएको छ । नैतिकता, मानवता, सत्य, धर्म, कर्म, अनुशासन, कर्तव्य सबै क्षेत्रबाट हामी नेपालीहरू च्युत हुँदै गैरेका छौँ । यसले गर्दा देश झन् पछि झन् पछाडि परिरहेको छ । अन्याय, अत्याचार, भ्रष्टाचार बढ्दै गैरहेको छ । राजनीति पुरै नाली जस्तै फोहोर भएको छ । नेतालाई मात्र सधैँ दोष नदिऊँ, दोषी त हामी हौँ जसले उनीहरूलाई नेता बनायौँ, भोट हाल्यौँ, जितायौँ र माथि पठायौँ । हामी जस्ता, नेता पनि उस्तै ! ऐनामा हेर्नुस्, देखिन्छौँ दुरुस्तै !! अब एक पटक छातीमा हात राखेर सोच्ने कि हामी सबैले !