नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार पर्साका १७ जनाको परीक्षण ‘पोजिटिभ’ आएपछि संक्रमितको संख्या ९९ पुगेको जानकारी दिनुभयो । थपिएका नयाँ संक्रमितहरु दुईमहिने शिशुदेखि ६६ वर्षसम्मका रहेका छन् ।
कोरोनाबाट अहिलेसम्म ७१ पुरुष र २८ महिला संक्रमित भएका छन् । संक्रमितमध्ये २२ जना उपचारपछि निको भएर फर्केपनि फर्केका तीनजना पुनः परीक्षणमा पोजिटिभ देखिएपछि अस्पतालमा भर्ना भएका छन् । यसबारे अध्ययन–अनुसन्धान भइरहेको डा. देवकोटाले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ‘पीसीआर’ विधिबाट १४ हजार ९६ र ‘आरडीटी’ विधिबाट ५२ हजार ९ सय ७० वटा परिक्षण गरिएको छ । विगत २४ घन्टामा भने ९ सय ९१ वटा परीक्षण भएको जनाईएको छ । परीक्षण सामग्रीहरुको व्यवस्था कम भएकाले थोरैमात्र परीक्षण भएको र केही दिनमै तीव्ररुपमा परीक्षण हुने प्रवक्ता देवकोटाले बताउनुभयो ।
देशभर अहिले कोरोना संक्रमणको आशंकामा १९ हजार ७ सय ३४ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने आईसोलेसनमा रहनेको संख्या १ सय ३६ छ । पछिल्लो समय ३ सय ३३ जना संक्रमणको ‘रेडजोन’मा रहेका छन् ।
