सरकारले लकडाउन अथवा बन्दाबन्दीको समय ११ दिन थप गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म जारी लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सुझावका आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
सरकारले अन्तर्राष्ट्रीय सीमा नाका भने जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
चैत ११ गतेबाट लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र ठप्प अवस्थामा छन् । सरकारले लकडाउनलाई खुकुलो पार्ने चर्चा भएपनि संक्रमणको जाखिमलाई मध्यनजर गर्दै पुनः बन्दाबन्दीको अबधि थपिएको छ । पछिल्लो समय नेपाल तथा भारतमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । छिमेकी मुलुक भारतले भारतले लकडाउनको अवधि बढाएर जेठ ४ गतेसम्म पुर्याएको छ ।
यसैबीच, सरकारले बिहीवार २५ गते साँझ देशभरि दीप प्रज्वलन गर्न पनि आह्वान गरेको छ । बिहीवार बुद्ध जयन्ती पनि हो । बुद्ध जयन्तीका अवसरमा कुनै औपचारिक कार्यक्रमको आयोजना नगरिएको तथा मुलुकमा कोरोना विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुको सम्मानमा दिप प्रज्वलन गर्न आव्हान गरिएको हो ।
