अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

“विश्व एकजुट भए कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ”– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ वैशाख २२ गते २२:१७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व उकजुट भए कोरोना विरुको लडाइँ सहजै जित्न सकिने बताउनुभएको छ । सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भाइरसलाई पराजित गर्नुबाहेक अरू कुनै विकल्प नभएको बताउनुभयो ।

संकटको घडीमा असंलग्न राष्ट्रहरु एकताबद्ध हुनुर्ने र कोभिड–१९ लाई पराजित गर्न तथा शान्ति, स्थायित्व र समृद्धिको साझा आकांक्षा प्राप्तिमा सहयोग पुर्याउन बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई समर्थन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको छ । कोभिड –१९ विरुद्ध एकताको विषय दिइएको सो सम्मेलनमा प्रस्ताव गरिएको कोरोनाविरुद्ध असंलग्न राष्ट्रका आवश्यकता समावेश गरी तथ्याङ्कीय आधार निर्माण गर्न असंलग्न राष्ट्रहरुको कार्यटोली गठनको प्रस्तावलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले असंलग्न आन्दोलनले सदस्य मुलुकका सहयोगी कार्यमा समन्वय गर्न र विश्वव्यापी ऐक्यबद्धताको भावनानुरूप विश्वभरिका गरीब तथा अति जोखिमयुक्त जनसंख्याको आवाजलाई एकीकृत पार्न आह्वान गर्नुभयो ।

विश्वका १२० मुलुक आबद्ध नामले क्षेत्रीय पहलहरुलाई विश्वव्यापी प्रयासको स्तम्भका रुपमा गरीबी, अस्वस्थता र अल्पविकसित अवस्थाविरुद्धको लडाइँमा सिङ्गो मानव समुदाय एकै स्थानमा उभाउनुपर्नेमा जोड दिँदै उहाँले यो विद्रोह तथा लडाइँमा संलग्न हुने समय नरहेको स्पष्ट पार्नुभयो ।संयुक्त राष्ट्र सङ्घका महासचिवद्वारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई नेपालले समर्थन गर्ने प्रधानमन्त्रीको भनाई छ ।

संवादमा विश्वव्यापी महामारी कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र विश्व समुदायको साझा दायित्व तथा नामको भूमिकाबारे विचारविमर्श भएको थियो । सो अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका मुख्य मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो । नाम विश्वका कुनै पनि शक्ति पक्षसँग संलग्न नभएका १२० मुलुकको साझा मञ्च हो । संयुक्त राष्ट्र सङ्घपछि विश्वमा यो दोस्रो ठूलो राष्ट्रहरुको मञ्च मानिन्छ । यसको स्थापना सन् १९६१ मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय