फ्रान्समा कोरोना भाइरसको संक्रमण सोचिए भन्दा एक महिना अघि नै सुरु भएको खुलेको छ । पेरिस नजिकै गएको वर्षको डिसेम्बर २७ मा निमोनियाको उपचारका लागि आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण रहेको अहिले आएर खुलेको हो । त्यो बेला निमोनिया भनेर उपचार गरिएकोमा अहिले आएर वास्तवमा उनलाई कोरोना भाइरसको संक्रमण रहेको खुलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
डा. यवेस कोहेनले फ्रान्सेली सञ्चारमाध्यमलाई बताए अनुसार त्यो बेला लिइएको स्वाब हालै मात्र परीक्षण भएको हो । त्यसमा कोभिड–१९ पोजेटिभ देखिएको छ । ५० वर्ष हाराहारीका ती व्यक्ति अहिले पूर्णरुपमा निको भएका छन् । उनले आफू कुनै पनि संक्रमित क्षेत्रमा नगएकाले कसरी कोरोना भाइरसको संक्रमण भयो भन्ने थाहा नभएको बताएका छन् ।
फ्रान्समा कोरोना भाइरसको पहिलो संक्रमण जनवरी २४ मा देखिएको ठानिँदै आएको थियो । तर त्यो भन्दा एक महिनाअघि नै संक्रमण फ्रान्स पुगेको खुलेको हो । जनवरी २४ मा संक्रमण पुष्टि भएका तीनजना मध्ये दुईजना चीनको वुहान गएका थिए र अर्का एक परिवारका सदस्य थिए । पछिल्लो खुलासापछि फ्रान्समा भाइरसको संक्रमण एक महिनासम्म थाहै नभइ फैलिएको देखिएको छ।