सरकारले यही वैशाख २५ गतेपछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री–वितरणमा बन्देज नलाग्ने गरी लकडाउन अर्थात बन्दाबन्दीको ढाँचा परिवर्तन गर्ने भएको छ । उद्योग र कल कारखानालगायत उत्पादनमूलक उद्योग तथा दैनिक उपभोग्य वस्तुको बिक्री–वितरणमा पनि सावधानी अपनाएर बन्दाबन्दी खुकुलो बनाउने तयारी थालिएको छ ।
प्रस्तावित खाका अनुसार सीमा क्षेत्रलाई उच्च जोखिमको क्षेत्रका रूपमा राखेर आवागमन पूर्ण रूपमा ठप्प पार्ने, देशभित्र यात्रु ओसारपसारका लागि निजी तथा सार्वजनिक कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाइने व्यवस्था गर्ने तयारी सरकारले गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव एवम् प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायण बिडारीले आज थप छलफल गरेर मन्त्रिपरिषद्लाई सिफारिस गरिने बताउनुभयो ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको थियो । बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका अधिकारीले शर्तसहित राजधानीलगायत विभिन्न स्थानमा लगाइएको लकडाउन खुकुलो बनाउदै लैजानुपर्ने सुझाव दिएका थिए ।
आज बस्ने समिति बैठकले यी प्रस्तावसहितको लकडाउनको ढाँचा लागू गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्नेछ । समितिको सिफारिस कार्यान्वयन भए वैशाख २६ गतेदेखि लकडाउन खुकुलो हुनेछ । चैत ११ गतेबाट लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र ठप्प अवस्थामा छ । सरकारले विकल्प नदिई लकडाउन बढाउँदै लगेको भन्दै आलोचना हुन थालेको छ ।
