अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 02:03

रूसमा एकैदिन १० हजार बढीलाई कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ वैशाख २१ गते ७:२० मा प्रकाशित

पछिल्लो समय रूसमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरस एकै दिन १० हजार मानिसमा संक्रमण भएको छ । पछिल्लो विवरण अनुसार आइतबारमात्र त्यहाँ १० हजार जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।मार्च अन्तिम सातासम्म फाट्टफुट्ट मात्र संक्रमित रहेको रुसमा अप्रिल लागेसँगै संक्रमण ह्वात्तै बढेको हो । अहिले १ लाख ३४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १२ सय ८० जनाको मृत्यु भइसकेको छ ।

रूसी प्रधानमन्त्री मिखाइल मिसुस्तिन स्वयं कोरोना भाइरसबाट संक्रमित बनेका छन् । एक महिनाअघि पुछारतिर रहेको रूस अहिले सबैभन्दा बढी कोरोना संक्रमित भएका मुलुकमा सातौं नम्बरमा पुगेको छ । धेरै पहिला संक्रमण देखिएका चीन, इरान, टर्कीजस्ता देशलाई पछि पार्दै अघि बढेपछि रुस नयाँ इपिसेन्टरका रुपमा देखिएको छ । राष्ट्रपति भ्लादमिर पुटिनले संक्रमणको उच्चतम विन्दुमा अझै नपुगेको बताउनुभएको छ ।

देशभर मे ११ सम्मका लागि काम गर्न नपाइने नियम लगाइएको छ भने मार्च ३० देखि राजधानी मस्कोका १ करोड २० लाख मानिसलाई अत्यावश्यक बाहेक बाहिर निस्कन निषेध गरिएको छ । रूसमा अहिले दैनिक १ लाख ५० हजार मानिसको कोरोना परीक्षण भइरहेको दाबी पुटिनले गर्नुभएको छ । त्यहाँ अहिलेसम्म ३० लाख मानिसको कोरोना परीक्षण गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय