अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

विश्व प्रेस स्वतन्त्रता दिवस मनाईयो

बिआरटीनेपाल २०७७ वैशाख २१ गते ७:१७ मा प्रकाशित

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सूचना सम्प्रेषणमा कार्यरत विश्वका पत्रकारहरुले आज (मे ३) मा ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाएका छन् । पत्रकारिता पेसाको हकहितको संरक्षण, सम्वद्र्धन एवं स्वतन्त्रताको माग गर्दै विश्वका पत्रकारले मे ३ लाई स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएका छन् ।

विश्वमा स्वतन्त्र प्रेसको आधारस्तम्भ विश्व मानवअधिकार घोषणापत्र १९४८ लाई मान्न सकिन्छ । सन् १९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा पारित उक्त घोषणापत्रको दफा १९ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यतालाई आत्मसात् गर्न प्रत्येक नागरिकले कुनै पनि विषयमा स्वतन्त्रतापूर्वक विचार बनाउन पाउने, आफ्नो विचार तथा अभिव्यक्ति निर्भीक रुपमा राख्न पाउने र बिनाकुनै अवरोध जुनसुकै माध्यमद्वारा प्रसार गर्नसक्ने व्यवस्था गरेको छ ।

प्रेस स्वतन्त्रताको मर्म र मान्यता पनि यही हो । यही प्रावधानले नै वास्तवमा विश्वमा प्रेस स्वतन्त्रताको सुनिश्चिततालाई उजागर गर्ने पहिलो प्रयत्न गरेको हो । सन् १९९३ मा युनेस्कोको सिफारिसमा विश्वमा मनाउँदै आइएको विश्व प्रेस स्वतन्त्रता दिवसको जग बसाल्ने कामको श्रेय भने अफ्रिकी देशका सम्पादकहरुलाई जान्छ ।

सन १९९१ को अप्रिल २९ देखि मे ३ सम्म अफ्रिकी देश नामिवियाको विन्डहकमा विशेषतः अफ्रिकी देशका पत्रिकाका सम्पादकहरुले आयोजना गरेको सम्मेलनले पाँच बुँदे घोषणापत्र पारित गरेको थियो । तिनै घोषणापत्रको आधारलाई टेकेर सन् १९९३ मा युनेस्कोको महासभाले पारित गरेपछि विश्वमा यो दिवस मनाउँदै आइएको हो ।

विगतका बर्षहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईने गरिएको दिवस यसपल्ट कोरोना महामारीको कारण औपचारिक कार्यक्रमको आयोजना नगरी मनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय