प्रधानमन्त्री केपी ओलीले सीमा नाकाहरुमा कडाई गर्न निर्देशन दिनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा भारतबाट कोरोना भित्रिन नदिन सिमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । बैठकमा मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले तत्काल भारतमा रहेका नेपालीलाई ल्याउन नसकिने समेत बताउनुभयो ।
भारतमा लकडाउन लम्बिँदा अलपत्र परेका नेपालीलाई के गर्ने भन्ने सम्बन्धमा ओलीले तत्काल भारतबाट मानिस आउन दिनु जोखिम हुने भन्दै उक्त निर्णय गर्न नसकिने बताउनुभएको श्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन दिएको बताईएको छ । भारतसँगको नाकाहरु सिल गरिए पनि लुकिछिपी मान्छेहरू आइरहेका सन्दर्भमा भारतीय पक्षसँग पनि छलफल गरी कडाई गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।
यसैबीच, चैत ११ गतेदेखि निरन्तर रहेको देशव्यापी लकडाउनको अवधि वैशाख २५ गते सकिने भएकाले त्यसपछि के गर्ने भन्नेमा सरकारले विभिन्न मोडालिटीमा छलफल थालेको छ । वैशाख २५ पछि जिल्लाहरुमा देखिएको जोखिमका आधारमा अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याएर केही खुकुलो बनाउनेबारे छलफल भइरहेको बताइएको छ ।
