सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्रेस स्वतन्त्रता असीमित र निरपेक्ष हुन नसक्ने बताउनु भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिनुहुँदै मन्त्री खतिवडाले नागरिकको सु–सूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको उल्लेख गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
सरकारका प्रवक्तासमेत रहनुभएका डा. खतिवडाले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको चर्चा गर्नुहुँदै नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको स्मरण गराउनुभएको हो । मन्त्री खतिवडाको शुभकामना सन्देशमा उल्लेख छ, ‘अधिकारहरूलाई सहजीकरण गर्न सञ्चारमाध्यमलाई सूचनाको खोजी गर्ने छुट हुने र ‘प्रकाशन/प्रसारण गर्ने, राज्यका निकायहरूको काम कारबाहीलाई निगरानी राख्ने छुट दिइएको हुन्छ, जसलाई हामी प्रेस स्वतन्त्रता भन्छौँ’
‘कोरोना भाइरसपछि बन्दाबन्दीको असहज अवस्थामा पनि जनतालाई सुुसूचित गर्न खटिएका पत्रकार तथा सञ्चारकर्मीको योगदानको उच्च प्रशंसा गर्दछु’ मन्त्री खतिवडाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । व्यावसायिक धर्म निर्वाह गर्दा जीवन गुमाउनुहुने सञ्चारकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्री खतिवडाले प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आएका सबैलाई धन्यवाद समेत दिनुभएको छ ।
