राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलले समाजवादी पार्टीसँग गरेको पार्टी एकीकरणको सहमति पत्र अनुमोदन गरेको छ । वैशाख १० गते समाजवादीसँग एकीकरण भएर जनता समाजवादी पार्टी गठन गर्ने निर्णय गर्ने सहमति पत्रमा राजपा अध्यक्ष मण्डलका सवै सदस्यले हस्ताक्षर गरेका छन् ।
यसअघि, सहमतिपत्रमा ४ सदस्यले मात्रै हस्ताक्षर गरेका थिए भने अध्यक्ष मण्डलका सदस्यहरू राजकिशोर यादव र अनिल झाको हस्ताक्षर थिएन । पार्टी एकतालाई लिएर राजपा अध्यक्ष मण्डलमा दुई मत रहेको छ कि भन्ने आशंका भइरहेको बेला अध्यक्षमण्डलको बैठकले उक्त सहमति पत्रलाई अनुमोदन गरेको हो । पार्टीका एक नेताका अनुसार १६ गते मंगलबार बसेको अध्यक्षमण्डलको बैठकले उक्त सहमितपत्र अनुमोदन गरेको हो ।
राजपा र समाजवादी पार्टीबीच वैशाख १० गते राति पार्टी एकीकरणको घोषणा भएको थियो । ११ गते दुवै पार्टीका नेताहरूले पार्टी एकता भएको निवेदन र एकीकरणको सहमति पत्र निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएका थिए ।
