सरकारले घोषणा गरेको लकडाउन अर्थात बन्दाबन्दीको अहिलेसम्मको अवधिमा एक लाख १५ हजार सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले विभिन्न चरणमा गरी गत चैत ११ गतेदेखि वैशाख २५ गतेसम्म घोषणा गरेको बन्दाबन्दीको अहिलेसम्मको अवधिमा एक लाख १४ हजार सात सय २२ जना सर्वसाधारण र ५२ हजार एक सय १४ सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो ।
यसअघि बन्दाबन्दी केही खुकुलो भए पनि अहिले भने कडाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक निरज शाहीले जानकारी दिनुभयो । अहिलेसम्म नियन्त्रणमा लिएर छोडे पनि अब भने संक्रमण रोग ऐन अनुसार कारबाही गर्ने तयारी भइरहेको प्रवक्ता शाहीले बताउनुभयो । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी लकडाउन उल्लघन काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा भएको छ ।
प्रवक्ता शाहीका अनुसार काठमाण्डौ उपत्यकामा मात्र यस अवधिमा ९१ हजार पाँच सय ९८ जना र १६ हजार नौ सय ७२ सवारी साधन नियन्त्रणमा लिइएको छ । सात प्रदेश मध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा ७ हजार ३ सय ७ जना नियन्त्रणमा लिइएको छ भने सबैभन्दा बढी सवारी साधन बागमती प्रदेशमा ७ हजार २ सय ९८ नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार सबैभन्दा कम लकडाउन उल्लंघन गर्ने २ नम्बर प्रदेशमा ७ सयलाई नियन्त्रणमा लिइएको छ भने सवारी साधन सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ७ सय ६८ नियन्त्रणमा लिइएको छ ।
