आज मे १, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वभरका मजदुरहरुले आफ्नो हक तथा अधिकार प्राप्तिको बिशेष दिनको रुपमा मनाउदैछन् । प्रत्येक वर्ष श्रमिक दिवसका अबसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामूलक र्याली जस्ता कार्यक्रम आयोजना गर्दै आएपनि यस बर्ष कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम गरिएको छैन ।
मुलुकमा झन्डै डेढ महिना लामो लकडाउनका कारण आममानिसको जिवन असहज बनेको छ भने सबैभन्दा ठूलो मर्कामा श्रमिक वर्ग परेका छन् । लकडाउनका कारण जुनसुकै क्षेत्रका मजदुर पनि कामविहिन छन् । विकास निर्माणका कामहरू सबै ठप्प प्रायः छन् भने उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द छन् । वैदेशिक रोजगारीका क्रममा रहेका लाखौँ नेपालीको अवस्था पनि उस्तै भयावह छ । विश्वव्यापी वर्तमान संकटको अवस्थामा श्रमिक वर्गलाई राहत र विशेष सहयोगको प्याकेज व्यवस्था गर्नु पर्ने देखिएको छ ।
सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।
त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । नेपालमा विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
