प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सार्नुभएको छ । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उहाँको प्रस्ताव छ ।
नेकपामा विवाद चर्किएको बेला बुधवार साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिनुभएका प्रधानमन्त्री ओलीले बीचमा रोक्दै माधव र बामदेवबारे प्रस्ताव राख्नुभएको हो । उहाँले कोरोना भाइरसको संकट सकिएपछि आफूले प्रधानमन्त्री छाड्ने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभयो । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर पनि ल्याउन आफू तयार रहेको उहाँले बताउनुभयो ।
साथै पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उहाँको प्रस्ताव थियो । साथै अर्का अध्यक्ष प्रचण्डले लगाएको सबै आरोप खारेज गर्ने समेत उहाँले बताएको नेकपा स्रोतले जनाएको छ । तर पार्टी भित्रको आन्तरिक समस्या र स्थायी कमिटीका २० सदस्यले माग गरेको स्थायी कमिटी बैठकबारेमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
२० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठक र अरु निर्णय पनि गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता र सुदृढीकरणको महत्व, सरकार र पार्टीको स्थायी कमिटी बैठक र यससँग जोडिएको विविध विषयमा विचार विमर्श भएको छ । २० गतेको बैठकले नै माग भइआएको स्थायी कमिटी बैठकको पनि टुंगो लगाउने नेकपाले जनाएको छ ।
