अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 21:03

अमेरिकामा फेरि दैनिक मृत्यु संख्या उकालो लाग्यो, एकै दिन २४ सय बढीको मृत्यु

बिआरटीनेपाल २०७७ वैशाख १६ गते २२:०९ मा प्रकाशित

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण दर र दैनिक मृत्यु संख्यामा अघिल्ला केही दिनहरुमा कमी आएको थियो । तर मंगलबार फेरि यो संख्या बढेको छ । मंगलबार मात्र अमेरिकामा कोरोना संक्रमणका कारण २ हजार ४७० को मृत्यु भएको जनाईएको छ । जबकि त्यहाँ सोमबार कोरोना संक्रमणका कारण १ हजार ३८३ को ज्यान गएको थियो । आइतबार पनि त्यहाँ एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १५७ मात्र रहेको थियो । तर शनिबार भने एकै दिन मात्र २ हजार ६५ को मृत्यु भएको थियो । मंगलबार फेरि दैनिक मृत्यु संख्या उकालो लागेको छ ।

मंगलबार अमेरिकामा सोमबारको तुलनामा कोरोना संक्रमणका नयाँ केस पनि बढेका छन् । मंगलबार मात्र त्यहाँ २५ हजार ४०९ नयाँ संक्रमित फेला परे । जबकि सोमबार २२ हजार ९६३ नयाँ संक्रमित फेला परेका थिए । यससँगै त्यहाँ कुल संक्रमितको संख्या १० लाख ३५ हजार ७६५ पुगेको छ ।

यसैगरी अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ५९ हजार २६६ को ज्यान गइसकेको छ । साथै अमेरिकामा १ लाख ४२ हजार २३८ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । हाल ८ लाख ३४ हजारभन्दा बढी संक्रमित उपचाररत रहेको जनाइएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा पनि पछिल्ला केही दिनमा कोरोना संक्रमणका घटना र दैनिक मृत्युमा कमी देखिएको थियो । तर मंगलबार फेरि यो संख्या बढेको छ । हाल न्यूयोर्कमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ हजार १४४ पुगेको छ । मंगलबार मात्र त्यहाँ ५२१ को मृत्यु भएको छ । जबकि सोमबार त्यहाँ ३४८ को मृत्यु भएको थियो, यो अघिल्ला दिनहरूको तुलनामा सबैभन्दा कम हो । आइतबार त्यहाँ ३६७ को मृत्यु भएको थियो भने शनिबार ६१७ ले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया