नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । पार्टीको शीर्ष तहका नेताबीच सोमबार भएको सहमति अनुसार सचिवालय बैठक आज बोलाइएको हो । सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धि दुई अध्यादेश फिर्तापछि पनि पार्टीभित्रको विवाद निरुपण नभएपछि नेकपाले सचिवालय बैठक बोलाएको हो । स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने भएको छ ।
सोमबार शीर्ष तहका केही नेताहरू बीचको छलफल बमोजिम बैठक बोलाइएको र सचिवालय बैठकले स्थायी समितिको बैठकको टुंगो लगाउने वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो । खनालका अनुसार सचिवालय बैठक लगत्तै स्थायी कमिटी बैठक बोलाउने नेताहरुबीच सहमति बनेको छ ।
खुमलटारमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको छलफलमा आफूले पार्टी तथा सरकारलाई चुस्त गतिमा सञ्चालन गर्न पार्टी बैठक अनिवार्य बोलाउनुपर्ने सुझाव दिएको भन्दै नेता खनालले मंगलबारका लागि सचिवालयको बैठक बोलाइएको जानकारी दिनुभयो ।
सोमबार नै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बैठक बोलाउने बारेमा बालुवाटारमा छलफल भएको थियो । त्यसपछि नेता नेपालको निवास कोटेश्वरमा पनि केही नेताबीच छलफल भएको थियो ।
नेता नेपालको निवासमा भएको छलफलमा नेपालसहित सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त लगायतको उपस्थिति थियो ।
