संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण दैनिक मृत्यु हुनेको संख्या अघिल्ला दिनहरुको तुलनामा कम देखिएको छ । आइतबार त्यहाँ एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १५७ रहेको वर्ल्डोमिटर्सले जनाएको छ । जबकि शनिबार एकै दिन मात्र २ हजार ६५ को मृत्यु भएको थियो ।
अमेरिकामा कोरोना संक्रमणका नयाँ केसहरुमा पनि शनिबारको तुलनामा आइतबार कमी आएको छ । त्यहाँ शनिबार एकै दिन मात्र ३५ हजार ४१९ नयाँ संक्रमित फेला परेकोमा आइतबार भने यो संख्या घटेर २६ हजार ५०९ मा झरेको छ । शुक्रबार हालसम्मकै सर्वाधिक ३८ हजार ९५८ नयाँ संक्रमित फेला परेका थिए ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार १६० पुगेको छ । यसैगरी कोरोना भाइरस संक्रमणका कारण त्यहाँ ५५ हजार ४१३ को ज्यान गइसकेको छ । १ लाख १८ हजार ७८१ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् ।
सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ हजार २७५ पुगेको छ । आइतबार मात्र त्यहाँ ३६७ को मृत्यु भएको छ, यो अघिल्ला दिनहरूको तुलनामा सबैभन्दा कम हो । शुक्रबार त्यहाँ ४२२ को मृत्यु भएको थियो भने शनिबार ६१७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका थिए ।