राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भइ बनेको जनता समाजवादी पार्टीको दल दर्ता प्रकृया रोक्न निर्वाचन आयोगमा निवदेन परेको छ। नेपाललाई ‘बहु राष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टीको दल दर्ता प्रकृया रोक्न राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन दिएका हुन।
दुबै दलको सहमति पत्रमा उल्लेख भएको ‘बहु राष्ट्रिय राज्य’ भन्ने व्यहोरा नेपालको संविधान विपरित भएको उल्लेख गर्दै दल दर्ताको प्रकृया रोक्न निवेदन दिइएको अधिवक्ता ढकालले बताउनुभयो ।
बहु राष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने गरी दल दर्ता प्रस्ताव गरिएको मा प्रकृया रोक्न आयोगमा निवेदन दर्ता गरिएको उहाँको भनाई छ। पार्टीले प्रयोग गर्ने भनिएको झण्डा समेत बुर्किनाफासो देशको झण्डासँग मेल खाएकोले त्यसले परराष्ट्र सम्बन्धमा प्रतिकुल असर पर्ने निवेदकले बताएका छन् ।
बिहीबार राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकिकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ।
