महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल कम्यनिष्ट पार्टीका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरूद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी लिन अस्वीकार गरेको छ । सांसद एवं पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई खनाल र सांसदद्वयले जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै नवगठित जनता समाजवादी पार्टीका नेताहरु आइतबार जाहेरी दिन परिसर कार्यालय टेकु पुगेका थिए ।
तर प्रहरीले भने घटना महोत्तरीमा भएको भन्दै उतै उजुरी दिन भनेको छ । काठमाडौं परिसरका नवनियुक्त प्रमुख एसएसपी श्याम ज्ञवालीले भने जाहेरी ठाडै अस्वीकार गरेको पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराईले जानकारी दिनुभयो । प्रहरीले जाहेरी लिन नमानेपछि टेकुबाट फर्किएका सांसद डा. यादवसहितका जसपाका नेताहरु अब के गर्ने भन्ने रणनीति बनाउन छलफलमा जुटेका छन् । डा. यादवको साथमा जनता समाजवादी पार्टीका नेताहरू डा. भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेता प्रहरी परिसर गएका थिए ।
