कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मुलुकभरमा १ महिनादेखि जारी गरिएको लकडाउन अर्थात बन्दाबन्दी एक हप्ता थप गर्नुपर्ने सुझाव दिएको छ । समिति मातहत रहेको मुख्य सचिव नेतृत्वको कार्यदलले सरकारलाई यस्तो सुझाव दिएको हो । समितिको बैठक सकिएपछि बसेको कार्यदलको बैठकले वैशाख १५ बाट थप सात दिन बन्दाबन्दी लम्ब्याउनुपर्ने सुझाव दिएको छ ।
कार्यदलको सुझावका बारेमा समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको छ । बन्दाबन्दीको समय थप्ने वा खुकुलो बनाउने भन्ने बारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको रोक आगामी जेठ २ गतेसम्म कायमै राख्ने निर्णय गरेको समितिका प्रवक्ता तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिनुभयो ।
कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दीका कारण नेपालमा कोरोना नियन्त्रणमा रहेको निष्कर्ष निकालेको छ ।
