नेपालमा कोरोना संक्रमित बागलुङकी अंशु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छिन् । एक महिना लामो आइसोलेसन बसाइपछि सापकोटा निको हुन् । उनको स्वाब परीक्षणमा लगातार दोस्रोपटक नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिनुभयो । उनलाई शुक्रबार राति डिस्चार्ज गरिएको हो । यो स)गै उपचारपछि निको हुनेको संख्या ११ पुगेको छ ।
बागलुङ नगरपालिका ४ कुँडुलेकी सापकोटा गत पुस तेस्रो साता बेल्जियममा आमाबाबु भेट्न गएकी थिइन्। गाउँमा हजुरबुबा, हजुरआमासँगै बस्ने सापकोटा साढे दुई महिनापछि नेपाल फर्केकी थिइन्। गत चैत ४ मा नेपाल आएकी सापकोटालाई घरमा पुगेको एक–दुई दिनमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो ।
चैत १२ गते उनको स्वाब संकलन गरेर काठमाडौं पठाएपछि चैत १५ गते कोरोना भाइरस पोजिटिभ पुष्टि भएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि सापकोटाले गाउँमा गएर कोरोना विरुद्ध सचेतना फैलाउने बताएकी छिन् ।
