नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारसम्म अध्यादेश फिर्ता नलिए शनिबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेका छन् । बिहीबार साँझ पार्टी उपाध्यक्ष वामदेव गौतमको भैंसीपाटीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित बसेको बहुमत सचिवालय सदस्यको बैठकले अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई दबाब दिने निर्णय गरेको हो । बैठकले २४ घण्टाभित्र निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
अध्यादेशको निर्णय फिर्ता नलिए शनिबार स्थायी कमिटी बैठक डाक्नुपर्ने पनि बैठकले निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री ओलीले गरेका पछिल्ला अन्य निर्णयहरुको पनि गम्भीर समीक्षा गरेको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र प्रवक्तासमेत रहनुभएका नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । नेकपाभित्रको आन्तरिक विवाद चुलिँदै गएको अवस्थामा बसेको बहुमत सचिवालय सदस्यको बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
नेकपाको ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलबाहेक अरु ६ नेता भैंसेपाटी बैठमा जुटेका हुन् । बैठकमा सरकारको भूमिका, सरकारका गलत कदमका कारण पार्टी बद्नाम भएको लगायतका आन्तरिक विषयमा छलफल भएको बताइएको छ ।
मधेसवादी पार्टीलाई फुटाउने योजनाअनुसार अध्यादेश जारी भएपछि रातारात समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता घोषणा भएपछि यसले सरकार थप बद्नाम भएको आरोप नेकपाका असन्तुष्ट नेताहरुले लगाउँदै आएका छन् । भैंसेपाटीमा बैठक बसिरहेका बेला प्रधानमन्त्री ओली भने विवादित अध्यादेशका बारेमा परामर्श गर्न राष्ट्रपति निवास शितल निवास पुग्नुभएको थियो ।
