अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४६ | Colorodo: 15:01

समाजवादी र राजपाबीच पार्टी एकताको घोषणा, नयाँ पार्टीको नाम ‘जनता समाजवादी’

बिआरटीनेपाल २०७७ वैशाख १० गते २२:२२ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकताको घोषणा भएको छ । प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउन सजिलो हुने अध्यादेश ल्याएको ४८ घन्टा नपुग्दै दुई पार्टीबीच एकताको घोषणा भएको हो । एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ राखिएको छ । एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङको बीचमा तारा हुने छ भने चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।

पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राख्दै लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीले बुधबार मध्यरातमा सहमति बनेको हो । समाजवादी पार्टी फुटाउन सात सांसदले तयारी गरेपछि त्यसलाई रोक्न हतारमा समाजवादी र राजपाले एकता गरेका हुन् । यद्यपि, समाजवादी पार्टीकी नेतृ रेणु यादवलगायत केही नेता यस प्रक्रियामा असहमत रहेको जनाइएको छ ।

भैसेंपाटीमा बसेको दुई पार्टीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । एकताको चार बुँदे सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गर्नुभएको छ । समाजवादी पार्टीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

राजपा अध्यक्षमण्डलका सदस्यहरू अनिल झा र राजकिशोर यादव भने एकता प्रक्रियामा उपस्थित नभएको बताईएको छ । उहाँहरू काठमाडौं बाहिर रहेकाले एकता प्रक्रियामा सहभागी नभएको राजपा महासचिव केशव झाले बताउनुभयो । पार्टी एकता समानताको आधारमा गर्ने सहमति भएको छ । समाजवादी पार्टीमा १७ जना सांसद छन् भने राजपासँग १७ जना सांसद छन् । राजपाका १७ सांसदमा रेशम चौधरी निलम्बनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय