सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गरेका छन् । नेताहरुले तत्काल तत्काल स्थायी कमिटी र केन्द्रीय समितिको बेठक बोलायन माग गर्दै नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र लेखेर बुझाएका हुन् ।
केही दिन अघि सरकारले ल्याएको अध्यादेश र कोरोना संक्रमणको विषयमा छलफल गर्नुपर्ने उल्लेख गर्दै बैठक बोलाउन माग गरिएको हो । त्यसरी बैठक बोलाउन माग गर्ने स्थायी समितिका नेताहरुमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा, युवराज ज्ञवाली, देवप्रसाद गुरुङ, वेदुराम भुसाल, टोपबहादुर रायमाझी, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, पम्फा भुसाल र भीम आचार्य छन् ।
त्यसैगरी नेताहरु मणि थापा, मातृका यादव, मुकुन्द न्यौपाने, रघुजी पन्त, लिलामणि पोखरेल र हरिबोल गजुरेलले पनि बैठक बोलाउन अनुरोध गरिएको संयुक्त पत्रमा हस्ताक्षर गरेका छन् । नेकपामा प्रभावशाली मानिने नेताहरुले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ, ‘देश र जनता सामु आएको कोरोना भाइरस संक्रमणको गम्भीर स्वास्थ्य संकट र त्यसबाट सिर्जित समस्या तथा नेपालको राजनीतिक प्रणाली तथा संविधानको मर्ममा असर पार्ने कानुन संशोधन गर्ने अध्यादेशजस्तो संवदेनशील विषयमा पार्टीमा गहन र व्यापक छलफल गरिनु पर्दछ । यसका लागि स्थायी कमिटीको बैठक तत्काल बोलाइयोस् भनी माग गर्दछौं ।’
नेताहरुले लेखेको पत्रमा अध्यक्षद्वयलाई लेखेको पत्रमा स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठकमा समेत यी विषयमा छलफल गरी विद्यमान चुनौतीको सामना गर्न सामूहिक निर्णय र संकल्प गरिनुपर्नेमा जोड दिइएको छ । वर्तमान समयमा पार्टीको सामूहिक विवेक, बुद्धि र शक्ति लगाएर समस्याको समाधान गर्न सहज हुने भएकाले पार्टीप्रतिको जनविश्वासलाई बलियो बनाउनेतर्फ नेतृत्व ले पहलकदमी लिनुपर्ने पत्रमा उल्लेख छ ।
पार्टी्भित्र र बाहिरसमेत कुनै छलफल नगरी हठात् रुपमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी गरिएको विषयमा नेताहरुले आपत्ति प्रकट गरेका छन् । सरकारले पार्टीका कुनै पनि फोरममा छलफल नगरी अचानक दुई महत्वपूर्ण अध्यादेश ल्याएपछि नेकपाको आन्तरिक राजनीति तरंगित बनेको छ ।
