अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४१ | Colorodo: 11:56

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर रहेको प्रतिवेदन सार्वजनिक

बिआरटीनेपाल २०७७ वैशाख १० गते ७:२३ मा प्रकाशित

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर रहेको प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टर्स विथाउट बोर्डर्सले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको अवस्था गतवर्षभन्दा ६ स्थान तल झरेको हो । विश्व प्रेस स्वतन्त्रता सूचकांकमा गत वर्ष १०६ औं स्थानमा रहेको नेपाल आफ्नो स्थान खस्काउँदै यस वर्षको प्रतिवेदनमा ११२ औं स्थानमा पुगेको हो ।

विश्वभरका १८० देशमा गरिएको अनुगमनमा नेपाल ११२ औं स्थानमा रहेको हो । कोरोना भाइरसका कारण सृजित समस्यामा पत्रकारिताका लागि एक निर्णायक दशकमा प्रवेश शिर्षकमा निकालिएको प्रतिवेदनमा नेपालको अवस्था झन् खस्किएको हो । विपक्षमा रहँदा नेपाली प्रेसको प्रशंसा गर्ने प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भएलगत्तै संसदबाट निकै कठोर कानून पारित गर्न खोजेको प्रतिवेदनमा उल्लेख छ ।

खोजी पत्रकारिताका लागि अवरोध गर्ने खालको नयाँ अपराध संहिता लागू गरिएको भन्दै रिपोर्टर्स विथाउट बोर्डर्सले सरकारले तोकेको मानिसलाई सिधै नियुक्ति दिने प्रावधानसहितको प्रेस काउन्सिल ऐन बनाउन खोजेको पनि जनाएको छ ।

सरकारका मन्त्री र अधिकारीहरु सञ्चारमाध्यमको विरोधमा लागेको भन्दै प्रतिवेदनमा सरकारी विभिन्न धम्की, हिंसालगायतका कारण स्वतन्त्र रुपमा पत्रकारिता गर्नेहरुका लागि नेपालको वातावरण कठिन हुँदै गएको प्रतिबेदनमा उल्लेख छ । दक्षिण एशियामा भारत १४२, पाकिस्तान १४५, बंगलादेश १५१ औं स्थानमा रहेको छ । नर्वे लगातार चौथो वर्ष पनि पहिलो स्थानमा रहँदा उच्च पाँच देशमा क्रमशः फिनल्याण्ड, डेनमार्क, स्वीडेन, नेदरल्याण्डस् रहेका छन् । बेलायत ३५ औं स्थानमा रहँदा अमेरिका ४५ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय