प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता थप सुदृढ हुने र अन्तिम निष्कर्षमा पुग्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७१ वर्ष पुगेको अवसरमा बुधबार बिहान शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले लेनिन जयन्ति तथा पार्टी स्थापना दिवसले दुई वर्षदेखि जारी पार्टी एकता प्रक्रिया अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने बताउनुभयो ।
नेकपालाई यहाँसम्म ल्याउनमा पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नेतृत्व र पहलकदमी स्मरणयोग्य रहेको बताउदै अध्यक्ष ओलीले नेकपाले निरन्तर जनतालाई जागृत र संगठित बनाउँदै आएको उल्लेख गर्नुभएको छ । सात दशकको अवधिका लेनिनले स्थापना गरेको सोभियत संघ विघटन भए पनि लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको नेकपा, स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुगेको अध्यक्ष ओलीले बताउनुभयो ।
नेकपाले पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको ‘महान अभियान’लाई अघि बढाएको पनि ओलीको दाबी छ । कम्युनिस्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन सञ्चालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।
